Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सप्तरी र सिरहामा चार हजार हेक्टर धानबाली डुबान

    सप्तरी र सिरहामा चार हजार हेक्टर धानबाली डुबान

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 4K
    SHARES

    सप्तरी। असार अन्तिम साताकाे अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ। रोपाइँ सकिनै लाग्दा सुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ।

    केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए।



    सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ। सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताए।



    यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको राउतले जानकारी दिनुभयो । डुबानमा परेकामध्ये सरदर एक÷एक हजार हेक्टर खेत जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ।

    थप वर्षा नभए डुबान भएको धानबाली जोगिन सक्छ तरलगत्तै वर्षा भएमा क्षति हुने राउतले बताए। साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतले जानाकारी दिए। लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उनको भनाइ छ।

    सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ। वर्षाका कारण केही क्षेत्रमा धानबाली डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएकाले सप्तरी र सिरहामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

    यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ। अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार