काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रृंखलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौंका बिभिन्न ठाउमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर सुनका सिक्री लुटपाट गर्ने समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री, धनकुटाका राहुल माझी र भारतीय नागरिक श्रीकान्त माइती रहेका छन् । रविन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न व्यक्ति हुन् ।
यस्तै भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ ।
यस्तै टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो। उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो ।
दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्ध रुपमा बाइक प्रयोग गरेर महिलालाई टार्गेट गरेर लुट्ने कार्यमा संलग्न रहेको खुलेको छ । उनीहरुले राजधानीका विभिन्न ८ स्थानमा यसरी लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चेन लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिन्थ्यो । यो घटनामा भने मोटरसाइकलबाट ओर्लिएर चेन तानेर भाग्ने गरेको देखिएको छ । प्रहरीले बिक्री गरिएको केही सुन पनि बरामद गरेको जनाएको छ ।
उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । उनीहरूले चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र पायक पर्ने ठाउँ आएपछि बाइक रोक्ने, त्यसपछि महिलालाई पछ्याएर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply