काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’विरुद्ध काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले गएको सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक भएको र त्यसले नेपालीको सम्मानमा आँच आएको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रको बेइजत गर्न पाइँदैन’, ‘भारतको गेरूवस्त्र धारी प्रधानमन्त्री चाहिँदैन’, ‘नेपालको सार्वभौमिकतामाथि धावा बोल्न पाइदैन’, ‘कठपुतली सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।
सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
Leave a Reply