Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मेयर र आईजीपीविरुद्ध स्थानीयबासी, व्यापारी पोस्ने निर्णय नसच्याए सशक्त आन्दोलनको चेतावनी

    मेयर र आईजीपीविरुद्ध स्थानीयबासी, व्यापारी पोस्ने निर्णय नसच्याए सशक्त आन्दोलनको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.7K
    SHARES

    ललितपुर । करोडौंको सरकारी जग्गा मासेर व्यापारीलाई महल बनाउन दिन लागिएको भन्दै ललितपुर महानगरपालिकाका स्थानियहरुले विरोध गरेका छन् । ललितपुर महानगरपालिकाको १२ नम्बर वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै विरोध गर्दै आएका स्थानीयबासीसहित ललितपुरका विभिन्न २१ वटा संघ–संस्थाहरुले आज सडक आन्दोलन नै गरेका हुन् ।

    सरकारी जग्गा मासेर ब्यापारीलाई पोस्ने कार्य हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको अवस्थामा वडा कार्यालय र त्यसभित्र रहेको प्रहरी कार्यालय नै भत्काएर कम्प्लेक्स बनाउन लागेपछि ललितपुरका विभिन्न संघसंस्थाहरुले स्थाीयबासीको सहयोगमा आन्दोलन गरेका हुन् ।




    उक्त कार्यमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरसहितका जिम्मेवार अधिकारीहरुनै संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।



    आईजीपी कुँवरले आफ्नो पदीय हैसियत र मर्यादा भुलेर प्रहरीको भवन भत्काउने निर्णय गर्न महानगरपालिकाको कार्यालय पुगेर हस्ताक्षर गरेका थिए । २०७९ भदौ १ गते बुधबार भएको बैठकमा लगनखेलमा रहेको १२ नं. वडा कार्यालय र सँगै रहेको महानगरीय प्रहरी प्रभाग भवन खाली गराई वडा कार्यालय सहितको मत्च्छेन्द्र कम्प्लेक्स भवन निर्माण गर्ने निर्णय भएको थियो ।

    बैशाख १९ गते प्रहरी कार्यालय सार्ने निर्णय भएको थियो । महानगरपालिकाले खोजेको भाडाको घरमा प्रहरी कार्यालय सारेर लगनखेलको प्रहरी कार्यालय भएको ठाउँमा कम्प्लेक्स बनाउन गरिएको निर्णयमा स्वयम् आईजीपी बसन्तबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

    ललितपुर महानगरपालिकाले व्यापारी केबी महर्जनसँग मिलेर सो सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागेको हो । व्यापारिक भवन बनाएर वडा कार्यालय र प्रहरी कार्यालय त्यहि भवनमा राख्ने सहमति गरे पनि उक्त कम्प्लेक्समा वडा कार्यालय र प्रहरी कार्यालय हुने कुरा कल्पना मात्रै गर्न सकिन्छ ।

    स्थानीय व्यापारी केबी महर्जनले भने कम्प्लेक्स बनाउने ठेक्का समेत हात पारिसकेका छन् । महर्जन कम्प्लेक्स बनाउन लागिपर्नुको एउटै कारण हो– उक्त सरकारी जग्गापछाडि रहेको सानो बाटो भएको उनको व्यक्तिगत जग्गाको मूल्य बढाउनु र करोडौं कमाउनु । आफ्नो जग्गामा जाने बाटो सानो भएका कारण त्यहाँ व्यपारिक कम्प्लेक्स बनाउने नाममा महर्जनले बाटो ठूलो बनाउने योजना बुनेको सहजै अनुमान लगाउन सकिन्छ ।

    एउटा व्यापारीलाई पोस्नेगरी हुन लागेको यस्तो नीतिगत भ्रष्टाचारमा मेयर, आईजीपी, उपमेयर मञ्जली शाक्य बज्राचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले हस्ताक्षर गरेका छन् । स्थानीयबासीले महानगरपालिकाको गलत कदमबारे दुई महिना अघिदेखि विरोध जनाउँदै आएपनि महानगरपालिकाले अझैसम्म स्थानीयको गुनासो सुन्न सकेको छैन ।

    आन्दोलनका क्रममा स्थानीयबासी र संघसंस्थाहरुले टोल, समाज र स्थानीय जनताको इच्छा विपरित र विरोधका बाबजुद पनि नगरपालिकाले आफ्नो भवन खाली राखी व्यक्तिगत फाइदा पुग्ने र राज्यकोषलाई घाटा हुनेगरी कम्प्लेक्स बनाउन लागिएको आरोप लगाएका छन् ।

    स्थानीयबासीले सरकारी जग्गा मासेर कम्प्लेक्स बनाउने उक्त निर्णय नसच्याए आगामी दिनमा मेयर र आईजीपीविरुद्ध अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    वडा प्रहरी कार्यालय लगनखेल रहेको भवनको जग्गा केबी महर्जन कम्पनीले मच्छेन्द्र कम्प्लेक्स बनाउन २० देखि २५ करोड रुपैयाँमा निर्माण गर्न ठेक्का लिएका छन् । ठेक्का सम्झौता भएको जानकारीमा आएपछि स्थानीय जनताले सो बारेमा बुझ्न खोज्दा महानगरपालिकाले पूर्ण सूचना समेत दिन आनाकानी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार