काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई संसद् प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
६५ औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
संसद् जनअपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भइरहेको चन्दै सभामुख घिमिरेले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए।
सभामुख घिमिरेले संसद् जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउन पूर्व संसद् क्लवभित्र छलफल गर्न उपयुक्त हुने पनि बताए।
सभामुख घिमिरेले भने, ‘मलाई लाग्छ–संसद् प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ रु यसको नापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भए पनि जनअपेक्षा अनुरुपको हुन सकिरहेको छैन भन्ने आम अनभूति छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ।’
राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने पनि सभामुख घिमिरेको भनाइ छ ।
संघीय संसद् सर्वोपरी संस्था भएकाले यसले काम गर्न सकिरहेको छ कि छैन भनी छलफल र बहस आवश्यक रहेको उनले बताएका थिए । साथै संसद्ले आवश्यकता र खाँचो अनुसार काम गर्न नसकेको भए वा कानुनको अभाव भएमा कानुन बनाउनुपर्ने पनि उनको सुझाव थियो ।
Leave a Reply