काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
कानूनमन्त्री गुरुङले भने, ‘सरकार भ्रष्टाचारका ठूला काण्डहरूको निष्पक्ष छानबिन गरी मुलुकलाई सुशासन दिने काममा लागेको छ । सरकार ढल्छ भन्ने बजारमा हल्ला चलेको सुन्छु । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो ।’
वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेपछि सरकार ढल्छ भन्ने भ्रम फैलाइएको कानूनमन्त्री गुरुङको भनाइ छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै उनले भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने टिप्पणी गरे । एमाले सत्तामा जान भोकाइरहेको कानूनमन्त्री गुरुङको टिप्पणी छ ।
Leave a Reply