दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा मंगलबार ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।।
परिवार र आफन्तसहित विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटना हुँदा मुत्यु हुनेमा मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षिया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
Leave a Reply