Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेटवर्किङ व्यवसायमा नेता र प्रहरी

    नेटवर्किङ व्यवसायमा नेता र प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि महान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली (एनआरएन) र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट असार १७ मा इजाजतपत्र पाएको नेचर हर्ब्स इन्टरनेसनलमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छवि जोशी उपाध्यक्ष छन् । जोशीले जेठ १४ मा उपाध्यक्ष पद सम्हालेको हर्ब्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    त्यति मात्र होइन, कम्पनीले साताअघि सार्वजनिक गरेको ग्लोबल प्लान कार्यक्रममा जोशी पनि उपस्थित थिए । ‘एक उत्कृष्ट प्लेटफर्मको खोजीमा थिएँ । अहिले सन्तुष्ट छु । धेरै समयपछि कानुन आयो । सबैको सपना साकार हुने भएकाले आबद्ध भएको छु,’ गुरुपूर्णिमाका दिन नेचर हर्ब्सले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कोभिड–१९ बाट रोजगारी गुमाएका र विदेशबाट फर्केका लाखौंलाई हामीले रोजगारी दिन सक्छौं ।’



    पूर्वडीआईजीसँगै नेचर हर्ब्समा पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवर पनि आबद्ध छन् । वरिष्ठ अधिवक्तासमेत रहेका उनी नेचर हर्ब्सका वरिष्ठ सल्लाहकार हुन् । यसका सञ्चालक भने गितेन्द्रबहादुर राई हुन् । विगतमा हर्बोका नाममा हजारौं सर्वसाधारणलाई ठगी गरेपछि व्यवसाय बन्द थियो । तर कम्पनीले नाम परिवर्तन गरेर कारोबार गरिरहेको स्रोतको दाबी छ । उक्त कम्पनीमा भएका प्रायः सदस्य हर्बोको नेतृत्व तहमा छन् ।

    ‘विगतमा ठगी धन्दामा थिए उनीहरू, नेपालमा प्रतिबन्ध भएपछि नाम परिवर्तन गरेर अदृश्य रूपमा संस्था सञ्चालन गरे,’ स्रोतले भन्यो, ‘अहिले त्यही धन्दालाई राज्यले मान्यता दिएको छ ।’ नेचर हर्ब्स अन्तर्राष्ट्रिय कम्पनी हो । यसको सञ्जाल सिंगापुर, मलेसिया, हङकङ, कतार, यूएई, भारत र नेपालसम्म छ । स्रोतका अनुसार यो कम्पनीले मलेसियामा पनि हजारौं नेपालीलाई सदस्य बनाएर ठगेको थियो । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार