काठमाडौं । काठमाडौँ र ललितपुरबाट आईटी पसल र अफिसमा चोरी गरेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टबाट उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं-१ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं-१६ की १९ वर्षीया रोशनी महर्जन रहेका छन् । उनीहरुले आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा ३९ वर्षीय श्रेष्ठ र प्रेमिका महर्जन अहिले प्रहरीको हिरासतमा छन् । पछिल्लो एक वर्षदेखि उनीहरु ‘लिभिङ टुगेदर’मा छन् ।
२०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका–९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजीमा चोरी भएको थियो । सो चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सुबोधले ग्लोबल लिङ्क टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट १२ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ । उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको, खाना पनि हरेक दिन रेष्टुरेन्टबाट मगाउने गरेको प्रहरी समक्ष बताएका छन् ।
एक स्थानमा चोरी गर्न जाँदा उनीहरूले ३ वटा सम्म पठाओ बुक गर्ने गरेका थिए। प्रहरीबाट उम्कन सकियोस् भनेर उनीहरूले एक पटक पठाओ बुक गरेपछि त्यो मोबाइल नम्बर अर्को पटक प्रयोग नगर्ने गरेको खुलेको छ ।
अष्ट्रेलिया जानका लागि आइएलटिएस गरिरहेको र त्यहाँ जान लाखौं रुपैयाँ लाग्ने भएपछि चोरी कार्यमा लागेको उनीहरूले प्रहरी समक्ष दिएको बयानमा भनेका छन् । उनीहरुमाथि ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
Leave a Reply