Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र आइजिपीका विश्वासपात्र एसपी थपलियाको मिलेमतोमा तस्करी, बिओपीमार्फत रकम बुझ्दै !

    सशस्त्र आइजिपीका विश्वासपात्र एसपी थपलियाको मिलेमतोमा तस्करी, बिओपीमार्फत रकम बुझ्दै !

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 7.4K
    SHARES

    वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइजिपी भएदेखि सिमानाकामा हुने चोरी तस्करी अवैध कारोबार रोक्न निर्देशन दिँदै आएका छन् । उनले घुमुवा तान्ने देखी अनुगमन टोली परिचालन तथा सीमा नाकामा सिसी क्यामेरा जडानसम्म अनेकन प्रयास गरिरहेका छन् ।

    तर सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट आइजिपी अर्यालकै आशीर्वादमा आएका उनका विश्वासपात्र १३ नं. गणका गणपति सुमन थपलियाले तस्करी गराउँदै बिओपी मार्फत रकम बुझ्दै गरेको आरोप लागेको छ ।



    जिल्ला प्रहरी पर्सा, सशस्त्र प्रहरीको रेकर्ड तथा पक्राउ परेका तथ्याङ्कले नै सो क्षेत्रमा तस्करी मौलाइरहेको प्रस्ट हुन्छ । पर्सा जिल्लामा तस्करी कायमै रहे पनि देखावटी साधुवादको नारा बोकेका सशस्त्रका एसपी थपलियाले प्रचारबाजी तथा आफूसँग भेट्ने सबै सँग तस्करी बन्द रहेको ठुलो ठुलो भाषण गर्ने गरेको जो कोही बताउँछन् ।



    प्रसौनीभाठा सिमानाकाबाट तस्करी

    प्रसौनीभाठा सिमानाका हुँदै दिनप्रति दिन राँगा,भैँसी, कपडा र किराना समान लगायतका तस्कर गिरोहहरूले बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा र एसपी थपलियाले मासिक लाखौँ रुपैयाँ बुझे पश्चात् तस्करीको लाइन दिएको सशस्त्र प्रहरी श्रोतले बतायो । रातिको समयमा प्रति दिन लाखौँ लाखौँको मालसमानहरु सीमा नाका हुँदै आयात निर्यात हुने गरेको छ ।

    अलि र नौसादलाई राँंगाभैंसी तस्करीको ठुलो लाइन

    सीमावर्ती क्षेत्र प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया राँगा भैँसी तस्करीको ठुलो लाइन पाएका छन् । सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापालाई महिनाको १ लाख र गणका एसपीलाई महिनाको लाखौँ छुट्याएर बिओपीमार्फत पठाउने गरेको सशस्त्र प्रहरी स्रोत बताउँछ । प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया राँंगा भैँसी भारत बिहारको विभिन्न ठाउँबाट खरिद गरी रातिको समयमा सशस्त्र प्रहरीसँगको सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    पर्सा जिल्लाको दक्षिण पश्चिमी सिमानाकामा हुने मासुजन्य राँंगाभैंसी तस्करीका मुख्य नाइके हुन प्रसौनीभाठाका अलि र नौसाद । परवानीपुर र जगरनाथपुर हप्तामा दुई पटक लाग्ने पशुहाट बजारको लागि ठूलो सङ्ख्यामा रोगी राँगा भैँसी तस्करी गर्दै आएका छन् ।

    प्रसौनीभाठाबाट कपडा तस्करीको लाइन पाउनेहरूको नामावली र सशस्त्र प्रहरीलाई बुझाउने दररेट सहित

    प्रसौनीभाठा सिमानाकाबाट कपडा तस्करीको लाइन आलम, अशोक, असलम र सरबदेवले पाएका छन् । सशस्त्र प्रहरी निरीक्षक थापालाई आलमले १ लाख , अशोकले १ लाख , असलमले ७५ हजार र सरबदेवले ६० हजार रुपैयाँ महिनाको दररेटका हिसाबले बुझाएर ठुलो तस्करीको लाइन चलिरहेको छ।

    यिनीहरूले तस्करी गरेर ल्याएका कपडा केहुनिया, बिशरामपुर, पोखरिया, डकैला, परवानीपुर, जितपुर लगायतको ठाउँहरूमा सञ्चालन रहेको कपडा पसलहरूमा दिने गरेका छन् ।

    अमरपटी नाकाबाट यसरी हुन्छ तस्करी बुझाउने दररेट सहित

    मुना नामक दुई जना, भोला र भुलन गरी ४ जना व्यापारीले मोटो रकम बुझाएर मोटरसाइकलको माध्यमले कपडाको ठुलो लाइन पाएका छन् । सुनिलले राजनिवास र रजनीगन्धा तस्करी गर्न लाइन पाएका छन् भने बिनयले हार्डवेयरको तस्करी गर्न छुट पाएका छन् । कबाड तस्करी गर्न बिगा र संजयले लाइन पाएका छन् ।

    भुवन यादवले दुहिने भैँसी तस्करी गर्न लाइन पाएका छन् । उनले नक्कली कागजात बनाएर नेपालको विभिन्न ठाउँ पठाउँदै आएका छन् । यस्तै, पर्साको नामुदत तस्कर अनुपले कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ ।

    उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ । अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करी कै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको स्रोत दाबी छ ।

    टुना, अमरदेव, छोटेलाल र पिन्टु सहित चार जनाले भारतबाट नेपालतर्फ गहुँ र धान तस्करी गर्न लाइन पाएका छन् । दिन र रात भरी भरिया लगाएर साइकलको माध्यमले तस्करी गरी भण्डारण गरेर ट्र्याक्टरमा लोड गरी बहुअरवा र वीरगन्ज मिल पठाउने गरेको खुलेको छ । त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ । सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपटबी सिमानाकाबाट तस्करी भइरहेको छ ।

    बिओपी भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक विष्णु हरि थापाको मिलेमतोमा भिस्वा, छोटका जयमंगलापुर र बुढगाईबाट यसरी हुन्छ तस्करी 

    यस क्षेत्रका नामुद तस्कर सत्रुघन भने बैलाका समूह र अन्य २–३ वटा तस्कर समूहले सीमापारि भारतबाट जुत्ता चप्पल, कपडा, पार चुनका सामान, पाउडर दूध, हार्डवेयरका सामान, स्पेयर पार्टस, औषधी लगायतका सामानको तस्करी गर्न लाइन पाएका छन् । बुढगाई सिमानाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करहरूले भन्सार छली अवैध रूपमा भारतीय समानहरू तस्करी गरी नेपालका पोखरिया, महुवन बजार, निचुटा, देउरिया, बढनिहार, रंगपुर, जितपुर लगायत ठाउँहरूमा पठाइरहेको खुलासा भएको छ ।

    यस्तै भारतबाट कपडा र बच्चाहरू पिउने पाउडर दूध सशस्त्र प्रहरीकै सहयोगमा भन्सार छली गरी छिपहरमाई-५ भिस्वा वडा कार्यालय अगाडि भारत नेपालको सिमानाका दसगाजा नजिक लाग्ने नाइट बसमा हालेर काठमाडौँ पठाउने गरेको हो ।

    भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको भिस्वा र सबैठवा सिमानाकाबाट नेपालतर्फ लत्ताकपडा, पाउडर दूध, जुत्ता चप्पल, हार्डवेयर, इलेकट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खाने तेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरू पिक अप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ ।

    दैनिक लाखौँ र मासिक करोडौँ मूल्य बराबरका उल्लेखित सामान भन्सार छली गरी भित्रँदा ठूलो रकम राजस्व छली हुने गरेको छ । तयार बोइलर कुखुरा, खसी बोका र माछा भन्सार छली गरी नेपाल भित्रने गरेको छ । नेपालबाट भारततर्फ बुढगाई नाकाबाट बालुवा तस्करी भइरहेको छ । त्यस्तै, भारतमा सस्तो र नेपालमा महँगो भएका कारण सख्खर र गहुँको तस्करी खुब बढेको छ ।

    तस्करहरूले सशस्त्र प्रहरीकै सेटिङमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर वीरगन्ज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।

    उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । यति मात्र नभई ती ठाउँबाट सशस्त्र प्रहरीकै मिलेमतोमा लागू औषधको कारोबार पनि फस्टाएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार