कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति प्रदेशसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिम महामन्त्री मेघराज खड्काले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति प्रदेशसभा सदस्य खड्काले आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सिंहका परिवार र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दै प्रदेशसभा सदस्य खड्काले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कांग्रेस सुदूरपश्चिम महामन्त्री खड्काले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘माननीय मन्त्री सिंह ज्यूले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्याएको योगदान र समाज सेवा प्रति वहाँको समर्पण भाव हामी सबैका लागि अविस्मरणिय रहनेछ । सरल स्वभाव र मिलनसार व्यक्तित्व माननीय सिंह ज्यूको देहावासनले नेपाली कांग्रेस पार्टी र सुदूरपश्चिम प्रदेश सभालाई अपुरणीय क्षती भएको छ ।’
मंगलबार बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको थियो । गाडीमा सवार दुई जना घाइतेको उपचार भइरहेको छ ।
Leave a Reply