काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकामा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।
गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो ।
Leave a Reply