हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चौकीबाट २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधीरकुमार सहनी छन् ।
हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नंको भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित उनीहरु पक्राउ परेका थिए । सो ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो ।
विशेष सूचनाको आधारमा गत शुक्रबार साँझ ७ः ४० बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्ट सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
पूर्व पश्चिम सडकखण्ड अन्तर्गत पर्ने उक्त चेकपोष्टमा सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको सो ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा प्याजको बोराले छोपी ल्याइएको कपडा बरामद भएको प्रहरीले जनाएको छ ।
ट्रकमा ल्याएको १६८ बोरा प्याजको प्रतिकिलो ५० दरले भन्सार काटिएको छ । प्याजको बोराले छोपेर ल्याइएको अवस्थामा सो परिमाणको अबैध भन्सार छलिका विभिन्न किसिमका कपडाहरु बरामद भएको हो ।
ट्रकमा पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ बराबरको बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकमा २ लाख ५२ हजार रुपैयाँ बराबरको ८४ कुन्टल प्याजको रहेको थियो । उक्त ट्रक र कपडा अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।
Leave a Reply