Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 960
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।



    प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।



    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। साथै, बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु।

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले बाढी, पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन्।

    दुई–तीन दिनदेखिको वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभामा व्यापक असर गरेको छ। बाढी, पहिरोमा अहिलेसम्म २५ जना बेपत्ता छन्। एक जनाको शव फेला परिसकेके छ।

    सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन बनाएको छ।

    बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।

    चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । तीन जनाको भने उद्धार गरेर उपचारका लागि चैनपुर लगिएको पनि प्रहरीले जनाएको छ ।

    यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम–४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् ।

    यस्तै, फालेलुङ–३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार गरिएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ ।

    तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ । बाढीले याङ्वरक गाउँपालिका–३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको प्रहरीले जनाएको छ ।

    यता, ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार