काठमाडौं । यो वर्षको मनसुन शुरु भएसँगै असारको पहिलो दिन नै पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।
बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । तीन जनाको भने उद्धार गरेर उपचारका लागि चैनपुर लगिएको पनि प्रहरीले जनाएको छ ।
यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम–४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् ।
यस्तै, फालेलुङ–३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार गरिएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ ।
तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ । बाढीले याङ्वरक गाउँपालिका–३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको प्रहरीले जनाएको छ ।
यता, ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । गत चौबीस घण्टामा ताप्लेजुङको दोभान स्टेसनमा ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको थियो । यो भनेको भारी वर्षा हो ।
जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ ।
Leave a Reply