काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बाट जानकी (सीता) लाई लिएर बोलिएको एक वाक्य केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हटाएको छ ।
जानकीलाई भारतकी छोरी भनिएको विवादित संवाद फिल्मबाट हटाइएको हो । सो विवादित संवाद फिल्मबाट हटाइएपछि बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ ।
बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।
सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।
Leave a Reply