काठमाडौं । जिल्ला प्रहरी परिसरले बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-३ बस्ने ३२ बर्षीय रमेश बानिया रहेका छन् ।
बानियालाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ चैतमा दोषी ठहर गरेको थियो । पक्राउ परेका बानियाको साथबाट प्रहरीले नाम नखुलेको एक थान पेस्तोल, २ थान म्याग्जिन र पेस्तोलमा लाग्ने ११ वटा गोली बरामद गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीको गाडी देख्नासाथ बानिया जयबागेश्वरी स्थित जेनिस अटो रिकन्डिसन नजिकबाट आफुले बोकेको झोला सडकमा फालेर फरार भएका थिए ।
बानियाले सडकमा फालेको कालो झोला चेकजाँच गर्दा झोला भित्र नाम नखुलेको पेस्तोल फेला परेको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीले बानियालाई भक्तपुर नयाँ ठिमीबाट पक्राउ गरी बैकिङ कसूर तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
Leave a Reply