काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि हुने भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान ८ बजे कार्कीलाई बोलाउने निर्णय गरेको हो ।
समितिले आज उजुरीकर्ताहरूसँग छलफल गरेपछि भोलि कार्कीलाई बोलाउने निर्णय गरेको छ । बुधबार बिहानको बैठकमा समितिले २३ जना उजुरीकर्तालाई छलफलका लागि बोलाइएको थियो ।
सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका थिए । बैठकमा उजुरीकर्ताहरूले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा प्रश्न उठाएका थिए ।
उजुरीकर्ताहरूले सामूहिक छलफल हुनुपर्ने आवाज उठाएपछि केहि समय समितिको बैठक प्रभावित बनेको थियो । गत वैशाख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।
Leave a Reply