काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको चरित्र हत्या भएको उनका पक्षका वकिलहरुले दाबी गरेका छन् ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाँणको पक्षाबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतले खाँणलाई कसुरदार बनाउन नमिल्ने तर्क गरे ।
उनीहरुले खाँणमाथि लगाएको अभियोगको औचित्यमाथि नै प्रश्न गरे । उनीहरुले कसुर ठहरिने कुनै प्रमाणविनै कसैले बयानमा पोलेको आधारमा अदालतमा मुद्दा थोपरेको तर्क गरे ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरेले खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाएका छन् ।
पूर्वगृहमन्त्री खाँणको तर्फबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता खम्बहादुर खातीले ठगी गरेको भनी उजुरी दिने कुनै पनि व्यक्तिले किटानी जाहेरी नदिएकै अवस्थामा खाणमाथि मुद्दा चलाइएको बताए ।
कसलाई ठग्यो, के कति रकम लियो भन्ने कुनै प्रमाणविनै ठगी मुद्दा हालेको उनको भनाइ थियो । प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाँणको नाम जबरजस्ती पोल्न लगाइएको उनको भनाइ थियो ।
Leave a Reply