Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

    अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 720
    SHARES

    काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण संघीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ ।

    अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार संघीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै आइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार यात्रुवाहक र मालवाहक दुवै सवारीसाधनमा यो नियम लागु गराउन लागिएको हो ।



    संविधानअनुसार अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापन विभागको कार्यक्षेत्र भए पनि प्रदेशअन्तर्गत कार्यालयहरूले काम गर्न नछाडेको उनले बताए । कार्यालयले सेवा लिन आएका सेवाग्राहीलाई अनुमति दिइरहेको उनले जानकारी दिए।



    विभागले अहिले यातायात व्यवसायीलगायत सबैलाई विभागमा बोलाएरै संघीय कार्यालयबाट अनुमति लिन भनेको छ । उनले भने, “सबै सरोकारवालालाई सम्झाउनका लागि अहिले परिपत्र गरिएको छ ।”

    प्रदेशले सेवा दिए पनि सरकारलाई आउने राजस्व आइरहेको र नागरिकलाई पनि सजिलो भएकाले संघीय कार्यालयबाटै अनुमति लिन बाध्य नगरिएको प्रवक्ता पनेरुले बताए । प्रदेशअन्तर्गतका कार्यालय सबै जिल्लामा भएकाले अहिलेसम्म सेवाग्राही पनि यातायात व्यवस्था कार्यालयमा नै गइरहेको उनले बताए ।

    तर, अन्तरप्रदेश चल्ने सवारीसाधनमा एउटाले दिएको अनुमति अर्को प्रदेशले नमान्न सक्ने हुँदा र कानुनको पालना गर्नुपर्ने हुँदा अब संघले नै गर्ने उनको भनाइ छ । उनले भने, “संघीयताको अभ्यासका क्रममा रहेकाले अहिलेसम्म कडाइ गरिएको थिएन ।”

    विभागअन्तर्गतका कार्यालयहरू काठमाडौंको टेकु, इटहरी, हेटौंडा, बुटवल र अत्तरियामा रहेका छन् । सेवाग्राहीले यी कार्यालयबाट आवश्यक अनुमति लिनुपर्नेछ ।

    संविधान र मन्त्रिपरिषद्बाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार अन्तरप्रदेश सञ्चालन हुने यातायातको व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको रहेको छ । कानुनको उल्लंघन गरी संघअन्तर्गतका कार्यालयबाट इजाजत नलिई सवारीसाधन सञ्चालन नगरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ ।

    विगतमा यातायात व्यवस्था विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय विसं २०७२ मा नयाँ संविधान लागु भएपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । संघीय सरकारअन्तर्गत चार प्रदेशमा मात्रै कार्यालय रहेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार