धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबका चुनावमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
धनकुटामा बुधबार कांग्रेसले गरेको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले अरू सबै दल मिलेर आए पनि कांग्रेसले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए।
चुनावमा गठबन्धन नगर्ने विषयमा पार्टीले नीति महाधिवेशनबाट प्रस्ट नीति लिनुपर्ने महामन्त्री थापाको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘विगतमा जे भयो, भयो । योभन्दा अगाडि अब उपरान्त एमाले, माओवादी, रास्वपा कोही पनि दुस्मन होइनन्, हाम्रा सहयात्री हुन् । बरू गरिबी, रोग र भोक हाम्रा मुख्य समस्या हुन् । अबका चुनावमा अरू सबैले गठबन्धन किन नगरून्, हामी निर्वाचनमा जाँदा कोहीसँग पनि गठबन्धन गर्दैनौं, जनताको छनोटको अधिकारलाई सुनिश्चत गर्छौं, आगामी भदौमा पार्टीको नीति महाधिवेशन हुँदैछ, यो महाधिवेशनबाट हामीले यो एजेन्डालाई पास गरेर अगाडि बढ्नुपर्छ ।’
महामन्त्री थापाले विगतमा भएको कमजोरीबाट दलदलमा फसेको कांग्रेसलाई अब बाहिर निकाल्न सक्नुपर्ने बताए ।
उनले सत्ताका लागि विचार, नीति र सिद्धान्त छोडेर सबै दलहरू एकै ठाउँमा आउँछन् भन्ने जनताको बुझाईलाई चिर्नुपर्ने बताए ।
उनले कांग्रेस सत्ताका लागि सबै कुरा छोड्छ भन्ने बुझाइकै कारणले जनताले कांग्रेसप्रति भरोसा राख्न छोडेको बताए ।
Leave a Reply