Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सीको सन्देशले ओलीविरोधी शिविर शिथिल

    सीको सन्देशले ओलीविरोधी शिविर शिथिल

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भेटवार्ता गरेपछि पार्टीअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी शिविर शिथिल बनेको छ। नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर राजदूत यान्छीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि ओलीविरोधी शिविर शिथिल बनेको होे।

    नेकपाभित्रको विवाद छताछुल्ल भइरहेको अवस्थामा असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी यान्छीले २१ गते नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, २३ गते झलनाथ खनाल र २५ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटी चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सन्देश सुनाएकी थिइन्। ‘चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपतिको चाहना नेपालमा कम्युनिस्ट पार्टी एकजुट भएको हेर्ने भएकाले यही सन्देश लिएर आएकी छु,’ नेताहरूसँगको भेटमा राजदूत हउलाई उद्धृत गर्दै स्रोतले भन्यो।



    स्रोतका अनुसार राजदूत हउले सबै नेतालाई सोही सन्देश सुनाएकी थिइन्। उनले नेपालमा कम्युनिस्ट पार्टीको भविष्य सुन्दर रहेको बताउँदै नेकपाले एकताबद्ध भएर सरकार चलाउनुपर्ने सन्देश चिनियाँ कम्युनिस्ट पार्टीको रहेको जानकारी नेताहरूलाई गराएकी थिइन्। राजदूत हउसँगको भेटपछि दाहाल, नेपाल, खनाललगायत नेता ओलीविरुद्धको अभियानलाई बिस्तारै कमजोर बनाउने मनस्थितिमा पुगेका छन्।



    भेटमा राजदूत हउले चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग आन्तरिक प्रशिक्षण र सरकार सञ्चालनको अनुभव आदानप्रदान गर्दै आएको स्मरण पनि गराएकी थिइन्। गत वर्ष सिपिसी र नेकपाबीच एकअर्का पार्टीको अनुभव आदानप्रदान गर्नेलगायत ६ बुँदे सहमति भएको थियो।

    सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन चिनियाँ राजदूत हउको सक्रियता, हस्तक्षेप र भेटघाट विषयमा टीकाटिप्पणी भइरहेको छ। भारतीय राजदूतले यसअघि नेपालको राजनीतिमा हस्तक्षेप गर्न यस्तै प्रकारका भेटघाट गर्दा आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध हुन्थ्यो। अहिले नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हउको सक्रियता र दौडधुपलाई लिएर ‘नेकपाको आन्तरिक विवादमा चीनको हस्तक्षेप’ भनेर फेरि टिप्पणी गर्न थालिएको छ। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार