Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीका वरिष्ठ सई पुरूषोत्तम सम्मानित

    सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीका वरिष्ठ सई पुरूषोत्तम सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई सम्मान गरिएको छ ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक नेपालीसहित सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको हो ।



    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्‍मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका हुन् ।



    साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरे । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ ।

    समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गरे ।

    समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रण लगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलता पूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उनले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताए ।

    सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक वहन गरी आफूलाई रूपान्तरण गर्ने संकल्प गर्न उनले अनुरोध गरे ।

    सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गरे ।

    साथै उनले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामहरूले प्रहरी समक्ष ल्याएका थप चुनौतीहरूको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

    नेपाल प्रहरीको उपस्थितिले विश्वभरिका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवम् अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार