Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • यस्तो छ प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमण ‘सेड्युल’

    यस्तो छ प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमण ‘सेड्युल’

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 900
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि आज भारत जाँदैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्न लागेको हो ।

    मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल तथा प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहाललगायत सहभागी हुनेछन् ।



    नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।



    सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

    प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

    भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले जेठ २० गते काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार