Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढीको वितण्डा : १२ जनाको मृत्यु, दुई दर्जन बढि बेपत्ता

    बाढीको वितण्डा : १२ जनाको मृत्यु, दुई दर्जन बढि बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 4.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढि तथा पहिरोमा परि हालसम्म १२ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन् । पहिरोमा परि कयौं घाइते समेत भएका छन् ।

    बुधबार राती सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । भोटेकोसीले ३६ वटा घर बगाएको छ भने घटनामा २० जना बेपत्ता र ७ जना घाइते छन् ।



    भोटेकोसीको बाढीले बाह्रबिसे–५ गातीको जम्बु बजारका १४ र खाग्दलका २० वटा घर बगाएको हो । घरसँगै बगेका जम्बुका १६ जना बेपत्ता छन् । ठाडो बल्कुर्टे खोलाले भोटेकोसी–५ बल्कुर्टेका दुईवटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता छन् । जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी निहाना बस्नेतको शव फेला परेको छ ।



    त्यसैगरी कास्कीका विभिन्न स्थानमा खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ ।

    पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीले जनाएको छ ।

    पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् ।

    यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन् । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन् ।

    घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए ।

    यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।

    पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ ।

    त्यस्तै, बिहीबार राति गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खाँचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

    उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेको लमजुङ प्रहरीले जनाएको छ ।

    यसैबीच म्याग्दीमा पहिरोले ५ घर पुरिदा ९ बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् । पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् ।

    त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार