काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै छ ।
प्रहरीले शरणार्थी प्रकरणमा संलग्नहरु मध्ये पक्राउ परिसकेका र पक्राउ पर्न बाँकी गरी ३३ जनाविरुद्ध २६ करोड बिगो कायम हुनुपर्ने मागदाबीसहितको प्रतिवेदन तयार पारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आरोपीहरूलाई संगठित ठगीसंगै राज्यविरुद्धको कसूर र लिखत कीर्तेमा पनि मुद्दा चलाउन प्रस्ताव गरिएको छ । आज कार्यालय समयमा राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जनाएको छ ।
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
सुरुवाती चरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरेको थियो ।
दुलाल, भण्डारी र गुरुङ पक्राउ परेको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राई पक्राउ परे। आरोपितहरूमध्ये दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई पक्राउ परे ।
त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे । सोही दिन नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे । वैशाख २५ गते प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो ।
त्यसपछि बैशाख २७ गते पूर्व गृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन समयका उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे। छोरा पक्राउ परेपछि फरार भएका पूर्व उर्जामन्त्री एवं एमालेका सचिवसमेत रहेका टोप बहादुर रायमाझी भने बैशाख ३१ गते मात्रै पक्राउ परे ।
नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा जेठ १ गते पक्राउ परे । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल र भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोप लागेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पीडितको सङ्ख्या झन्डै नौ सयको हाराहारीमा रहेको छ भने सङ्गठित गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।
Leave a Reply