एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयले आफू सेवा लिन नभई देशको सेवा गर्न आएको बताएका छन् ।
आज बेलायतको ऐतिहासिक शाही गिर्जाघर वेस्टमिस्टर एबेमा राज्याभिषेक गरेका चार्ल्स तृतीयले यस्तो बताएका हुन् । उनले भने, ‘सेवा लिन होइन, सेवा गर्न आएको हुँ ।’
समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइएको छ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिकी थिइन् ।
समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण पनि गरेका छन् । राजा बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल ठाउँ सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी छन् ।
Leave a Reply