काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डेको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पाण्डेको हत्या आरोपी झापाको मेचीनगर १० घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ३५ वर्षीय विनोद विकलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका विकले वैशाख ७ गते लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेपछि हत्या गरेको स्वीकारेका छन्। झापामा बाउन्सरको काम गर्ने विक घटनाको एक हप्ता अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए ।
घटनाको दिन विक लोकन्थलीबाट बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निराको पसलसम्म पुगेको सीआइबीका सूचना अधिकारी एसएसपी दिनेश आचार्यले बताए । वैशाख ७ गते विनोद निरु किचन हुँदै जाने क्रममा निराले लगाएको सुनको सिक्री देखेपछि उक्त सिक्री लुट्ने उद्देश्यले सामान किन्ने बहाना बनाई पसलमा छिरेका थिए ।
त्यसैक्रममा अन्य ग्राहक पसलमा आएपछि एटीएमबाट पैसा निकाल्छु भनी बाहिर निस्किएको पाइएको एसएसपी आचार्यले बताए । निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्।
निराले विकलाई भाँडा देखाउने क्रममा पछाडिबाट छुरा प्रहार गरी ढालेको र निराको हत्या गरी विक सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको छ । विकले पसलमै रहेको चक्कु प्रहार गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पसल सुनसान भएको मौकामा २:४४ मा पसलमा पुगेका विकले निराको हत्या गरी उनले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२:१३ सय रुपैयाँ लुटेर उनी फेरि लोकन्थलीस्थित साथीको कोठामा गएको प्रहरीले जनाएको छ ।
निराको हत्यापछि पसलमै लुगा फेरेर निस्किएका विक टेम्पु चढेर भागेका थिए । प्रहरीसामुु विकले आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको बयान दिएका छन् । शुरूमा क्यासिनोमा काम गर्दै आएका विक ३ लाख रुपैयाँ ऋण लागेपछि त्यो तिर्न नसकेर काठमाडौं आएको पाइएको छ ।
तीन लाख ऋण लागेर झापाबाट भक्तपुरको लोकन्थली आईपुगेका विक कसरी काठमाडाडौंको कपन पुगे ? उनले तीन लाख तिर्नका लािग निराकै घाँटीमा रहेको सुनको सिक्री नै लुट्ने योजाना किन बनाए र किन त्यहाँसम्मको बाटो रोजे भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्यो कि गरेन ? यो विस्तारै खुल्दै जालान् ।
बाउन्सरको काम गर्ने व्यक्तिलाई तीन लाख ऋण खासै ठूलो रकम नहुन सक्छ त्यसमाथि पनि उनी जुवाडे भएको प्रहरी अनुसन्धानले देखाइसकेको छ । जुवाडेले तीन लाखकै लागि झापाबाट भक्तपुर आई काठमाडौंको कपन पुगेर कसैको हत्या गर्न सक्छ ? यस विषयमा पनि प्रहरीको अनुसन्धान हुुन जरुरी छ ।
हत्या आरोप लागेका व्यक्तिले प्रहरीसामु हत्या गरेको स्वीकार गरिसकेको अवस्थामा कारण पत्ता लगाउनु महत्वपूण हुन जान्छ । ‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने तर्फ पनि नेपाल प्रहरी सचेत हुन जरुरी छ ।
Leave a Reply