डोल्पा। जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।
सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् ।
चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए। भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
Leave a Reply