Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बैदेशिक रोजगारका हरेक शाखामा घुस असुली, सचिव अर्यालकै मिलेमतो !

    बैदेशिक रोजगारका हरेक शाखामा घुस असुली, सचिव अर्यालकै मिलेमतो !

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भ्रष्टाचार र अनियमितताले सिमा नै नाघ्न थालेको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालमाथि भ्रष्टाचार र अनियमितताको रेकर्ड नै कायम गरेको आरोप लाग्ने गरेको छ । सामान्य प्रशासन मन्त्रालयमा रहँदा कर्मचारी सरुवामा बद्नामी कमाएका अर्याल एकाएक तत्कालीन श्रममन्त्री किसान श्रेष्ठको चाकडी गरेर श्रम मन्त्रालय प्रवेश गरेका थिए ।

    मन्त्री श्रेष्ठकै चाकडी गरेर श्रम मन्त्रालय छिरेका अर्यालले पछि श्रेष्ठको मन्त्री पद गुम्ने भएपछि उनै श्रेष्ठको फोन उठाउन छाडेको भनेर मन्त्रालयभित्रै गाइगुइ हल्ला चलेको थियो । अर्याल आफ्नो स्वार्थ पूरा भएपछि आफैले लात हान्दै हिड्ने गरेको उदाहरण उनले किशान श्रेष्ठसँग गरेको ब्यवहारबाट पनि पुष्टि हुने मन्त्रालयकै एक उपसचिव बताउँछन् ।



    सचिव अर्यालले मन्त्रालयदेखि विभाग र ताहाचल कार्यालयसम्म आफ्ना खास मान्छेलाई राखेर आर्थिक संकलनलाई तिव्रता दिएको मन्त्रालय स्रोतको दावी छ । सचिव अर्यालमाथि गत वर्ष पनि मलेसिया जाने कामदारको मेडिकल शुल्कमा प्रति ब्यक्ति एक हजार रुपैयाँका दरले बढाउने निर्णय गरेर स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षमार्फत करोडौं आर्थिक लाभ लिएको आरोप लागेको छ ।



    सचिव अर्यालमाथि श्रम सहचारी नियुक्ति गर्दा पनि कार्यविधि उल्लंघन गरेको आरोप लाग्दै आएको छ । श्रम काउन्सिलर र सहचारी नियुक्ती गर्ने कार्यविधिमा सर्वाधिक नम्बर ल्याउने कर्मचारीले रोजेको देश जान पाउने स्पष्ट ब्यवस्था छ । तर, उनले टेन्डर नै आब्हान गरेर जसले मोटो रकम दियो उसैलाई रोजेको देशमा नियुक्ती गरेका थिए । यसरी कार्यविधि उलंघन गरेका अर्याललाई अख्तियारले छुट दिएकोप्रति कर्मचारीहरु नै अचम्मित भएका छन् ।

    त्यसो त कतार सरकाले लान लागेको कतार पुलिसको मागलाई पनि सचिव अर्यालले आफ्नो स्वार्थ पूरा नभएपछि मागपत्र नै रद्ध गराएर मुलुकलाई ठूलो नोक्सान गराएका थिए । यसबाट द्धिपक्षिय सम्बन्धमा पनि चिसोपना आएको मन्त्रालय स्रोत बताउँछ । वर्तमान श्रममन्त्री शरद सिंह भण्डारीले यस्ता विवादास्पद सचिवलाई यथावत राख्ने हुन् वा अन्य इमान्दार सचिव ल्याएर बैदेशिक रोजगारलाई ब्यवस्थित बनाउने हुन् ? त्यो भने पर्खाइको विषय बनेको छ ?

     हरेक शाखामा घुस असुली, सचिव अर्याल नै मुछिए
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क हुने कार्यालयका काम छिटोछरितो र विना झन्झट काम गर्न निर्देशन दिए पनि बैदेशिक रोजगार बिभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाचलका कर्मचारीहरुले भने दुःःख र सास्ती दिएर घुस नलिई काम नै नगरेको गुनासो छ ।

    स्वदेशमा रोजगार नपाएपछि दैनिक हजारौं युवा विदेशिन बाध्य छन् । तर बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिनका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलका प्रत्येक शाखाका अधिकृत र नासुलाई घुस खुवाउनुपर्ने बाध्यता छ ।

    सरकारले फ्री भिसा फ्री टिकटमा कामदारलाई विदेश पठाउनू भन्छ । तर, बैदेशिक रोजगार कार्यालय ताहाचलमा कामदारको श्रम स्वीकृतिका लागि प्रत्येक शाखामा घुस बुझाउनुपर्छ । फुलिष्टप र कमा समेत हेरेर यो र ऊ मिलेन भनेर घुस मागेर हैरान पार्ने गरिन्छ । घुस दिएमा एउटा कामको लागि कामदार मागेको भए पनि अर्कै कामको श्रम स्वीकृति समेत दिने गरिएको छ ।

    रमेश अर्याल बैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख हुँदा अनलाइन सिष्टम प्रभावकारी रुपमा लागू गरी श्रम स्वीकृतिका क्रममा हुने घुस असुली नियन्त्रण भएको थियो ।

    तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले रमेश अर्यालबाट मासिक रुपमा भाग नपाएपछि उनलाई हठात् सरुवा गरी उपसचिव बसन्त बोहरालाई पठाए । बोहराले हरेक शाखाका अधिकृत र नासुलाई घुसको दररेट तोकेका छन् । बोहरालाई सचिव अर्यालले नै संरक्षण गर्दै आइरहेका छन् । काठमाडौं कार्यालयमा बोहरा र बैदेशिक रोजगार विभागमा कृष्णप्रसाद भूसालले घुस संकलन गरी सचिव अर्याललाई बुझाउने गरेको स्रोत बताउँछ ।

    काठमाडौं कार्यालय ताहाचल र शंखमूलस्थित बिभागबाट एक हप्तामा मन्त्राललयमा १० लाख उठ्ने गरेको स्रोतले बताएको छ ।

    बैदेशिक रोजगार कार्यालय काठमाडौंका प्रमुख बसन्त बोहराले नेपालले श्रम इजाजत नै नदिएका बेलारुसलगायतका मुलुकमा समेत श्रम स्वीकृति दिने गरेका छन् । यसरी नेपालले बैदेशिक रोजगार अनुमति नदिएको बेलारुसमा ५० हजार रुपैयाँसम्म घुस लिएर श्रम स्वीकृति दिएकाले बेलारुसमा सयौं कामदार अलपत्र छन् । होम तामाङजस्ता मानवतस्कर र ठगहरुसँग घुस लिंदै उपसचिव बोहराको नेतृत्वमा श्रम स्वीकृति दिने गरिएको छ ।

    त्यतिमात्र होइन, पोर्चुगल, माल्टा, क्रोएसिया, रोमानिया, पोल्याण्ड जस्ता यूरोपियन मुलुकमा बैदेशिक रोजगारीमा पठाउने भनेर प्रतिब्यक्ति १३ देखि १५ लाख रुपैयाँसम्म ठगी भइरहेको छ । यी देशमा कामदार पठाउनका लागि श्रम स्वीकृति लिनका लागि पनि बैदेशिक रोजगार कार्यालय ताहाचलबाट दररेट तोकेर घुस असुली हुँदै आएको छ । पोर्चुगल र माल्टामा दुबइ एनआरएनका पूर्व अध्यक्ष रमेश श्रेष्ठलगायतको गिरोहले काम गर्दै आइरहेको छ । सचिव अर्यालमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोपको बारेमा प्रतिकृया लिनका लागि उनलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार