काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका र जर्मनी पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने उज्वल खड्का रहेका छन् ।
खड्काले वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत र जापानलगायत देश पठाई दिने भन्दै २० युवासँग ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।
उनले युवाहरुसँग ३० लाख लागतमा मासिक ५ लाख रुपैयाँभन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खड्का ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्कालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply