काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पर्खंदा आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजना १० वैशाखको प्रतिनिधिसभाको उपनिर्वाचन अघि असम्भव देखिएको छ ।
१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले गत १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अपूर्ण बनेको सरकार आठौंपटकको विस्तारमा पनि पूर्ण हुने कि नहुने अझै अलमल छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डले ६ वटा मन्त्रालय आफैं सम्हाल्दै आइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकार बाहिरै छन् । जनमत पार्टीबाट सरकारमा मन्त्री बनेका अब्दुल खाँले मन्त्रालय चित्त नबुझेपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
सत्ता गठबन्धनमा आबद्धमध्येको एक दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पर्खंदा मन्त्रिपरिषद्लाई पूर्णता दिन समय लागेको बताए । राजधानी दैनिकबाट
Leave a Reply