काठमाडौं । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठन भएको छानबिन समितिका सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरीकृष्ण कार्कीले समितिका संयोजक गौरीबहादुर कार्कीलाई सपथ गराएका हुन् भने संयोजक कार्कीले सदस्यद्वय उत्तम सुवेदी र गणेशबाबु अर्याललाई सपथ गराएका हुन् ।
कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् भने सुवेदी नेपाल प्रहरीका पूर्व एआईजी र अर्याल पूर्वनायब महान्यायाधिवक्ता हुन्।
सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
सर्वोच्च अदालतमा आज आयोजित विशेष कार्यक्रममा सपथ ग्रहण भएलगत्तै आजैबाट समितिले काम शुरु गर्ने सदस्य सुवेदीले अनलाईन नेपाललाई बताए ।
सरकार र मिटरब्याज पीडितको एक समूहबीच शनिबार ५ बुँदे सहमति भएको थियो । जसमा मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको थियो ।
जाँचबुझ आयोगलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी ठोस र व्यावहारिक प्रतिवेदन तयार पार्न ३ महिनाको समय दिएको छ ।
आयोगले मिटरब्याज पीडितहरु कहाँ कहाँ, कसरी ठगिएका छन्, तिनीहरुको यकिन समस्या के छ भनेर अनुसन्धान गर्नेछ ।
समितिले गृह मन्त्रालय र जनकपुरमा कार्यालय स्थापना गरेर काम गर्ने पनि जनाएको छ । सरकारले समिति गठन गरेसँगै काठमाडौंमा रहेका मिटरब्याजका पीडितहरु पनि छानविनको दायरामा आउने बताइएको छ ।
आवश्यकता अनुसार विभिन्न्न जिल्लाहरुमा स्थलगत अनुगमन पनि गर्नुपर्ने भएकाले कार्यायल भन्दा पनि कामको मूल्यांकन हुने समितिका सदस्य सुवेदी बताउँछन् ।
समितिको अध्यक्ष रहेका कार्की विशेष अदालतको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका अब्बल व्यक्ति हुन् भने पूर्वनायब महान्यायाधिवक्ता अर्याल कर्तव्यनिष्ठ कर्मचारी मानिन्छन् ।
त्यसैगरी, पूर्वएआईजी सुवेदी आफैमा सफल अनुसन्धानकर्ता हुन् । उनी नेपाल प्रहरीमा कार्यरत भएको समयमा जनकपुरमा रहँदा बम काण्ड र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुँदा भागरथी भट्टको बलात्कारपछिको हत्यामा सफलतापूर्वक अनुसन्धान गरेका थिए ।
त्यसपछि सिआईबी प्रमुख भएका पूर्व एआईजी सुवेदीले क्रिकेटको स्पटक फिक्सिङमा पनि सफल अनुसन्धान गरेका थिए ।
Leave a Reply