काठमाडौं । संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ।
तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो।
रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडियोमा देखिन्छ।
अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान सुरु गरेको छ।
राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए।
राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको पत्ता लागेको छ। उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन्।
प्रवक्ता ड्यूजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए।
शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसङ्घले लामो समयदेखि छानबिन गर्दै आएको छ। पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन्।
एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो। एजेन्सी
Leave a Reply