दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे ।
“हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ । अरू दललाई पनि हामी यही आह्वान गर्छौँ,” उनले भने, “कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छौँ ।”
लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्ने लामिछानेले बताए । “यो नै लोकतन्त्रको विशेषता हो । देशका मालिक जनता हुन्,” उनले भने ।
तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि योपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरे । “सबै दलप्रति हाम्रो सद्भाव छ । अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन । एकपटक मत मात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौँ,” उनले भने ।
तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उमेदवार डा। स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए । राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
डा। वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको भन्दै अरूलाई गाली नगर्ने बताए । “अरूलाई गाली गर्ने फुर्सद छैन । कामबाटै विरोधीलाई जवाफ दिन्छु,” उनले भने ।
वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै अरू ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गरे । “खानेपानी र बाटो बनाउने मात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्,” वाग्लेले भने ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वशिक्षामन्त्री शिशिर खनालले तनहुँ–१ ले गर्व गर्न लायक उमेदवार पाएको बताए । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सुशासन र आर्थिक समृद्धि आफ्नो पार्टीको प्रमुख कार्यभार रहेको बताए । रासस
Leave a Reply