काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।
उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको खुलेको छ ।
त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ । उनीहरूले काम सम्पन्न भएपछि ४० देखि ५० हजार रकमसम्म दिने गरेको र बाँकी रकम गिरोहका मुख्य व्यक्तिहरू मिलेर खाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् ।
उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । विभागका सुब्बा अधिकारीले कसको शव कहिले आउँदैछ भन्ने जानकारी गिरोहका सदस्यहरूलाई दिने गरेका थिए ।
Leave a Reply