काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चेक बाउन्स गरेर फरार भएका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमीका ४१ वर्षीय राम ज्यापु र बूढानिलकण्ठ पैयुटारका ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन्।
उनीहरु सजाय नभोगी फरार भएपछि सिआइबीले उनीहरुको खोजी गरिरहेको थियो । उनीहरुले आफ्नो खातामा रकम नभएपनि जानी जानी भुक्तानीका लागि चेक काटेर दिएको सिआइबीले जनाएको छ । खातामा रकम नभएपछि राम ज्यापुलाई इन्द्र कट्टेलले चेक बाउन्सको जाहेरी दिएका थिए भने प्रकाश बुढाथोकीलाई निरणसिंह लामाले चेक बाउन्सको जाहेरी दिएपछि उनीहरुलाई चेक बाउन्सको मुद्दामा अदालतले जरिवाना र सजाय तोकेको थियो ।
बैकिङ कसुरमा रामज्यापुलाई २०७६ भदौ २ गते उच्च अदालत पाटनले ११ लाख ५० हजार जरिवाना र ३ दिन कैद सजाय हुने ठहर गरेको थियो । यता प्रकाश बुढाथोकीलाई २०७६ माघ २४ गते १० लाख ५० हजार जरिवाना र सात दिन कैद सजाय हुने ठहर गरेको थियो ।
Leave a Reply