काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राजनीतिक व्यवस्था र उपलब्धिहरुमाथि हमला हुन नदिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौं । यसलाई हरहालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु हाम्रो लक्ष्य र कार्यभार हो ।’
उनले शान्तिप्रक्रियाअन्तर्गत पहिलो राजनीतिक कार्यभार संविधान बनाएको, दोस्रो प्राविधिक काम माओवादी लडाकुको समायोजन भएको पनि बताए। गृहमन्त्री श्रेष्ठले आफूहरुले गरेका संघर्षका बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको बताए।
Leave a Reply