काठमाडौं । सरकारले मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई आफ्नो आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । बर्दिबासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार दिउँसो काठमाडौंको मातातीर्थ आइपुगेको थियो ।
उनीहरु काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोली उनीहरू बसेकै ठाउँमै पुगेर वार्ता गरेको हो । वार्ताका क्रममा सहसचिव बस्नेतले आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरेका थिए । तर उनीहरूले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।
‘तपाईंहरु काठमाडौँका लागि हिँडेकै दिन प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीको विषयमा गम्भीर भएर लाग्न र कानुन बनाउन निर्देशन दिनुभएको छ । तपाईंहरुको माग चाँडै समाधान हुन्छ,’ सहसचिव बस्नेतले भने । आन्दोलनकारीले न्याय नपाएसम्म काठमाडौँबाट नफर्किने अडान लिएका छन् ।
मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाडौंका लागि हिँडेका थिए । सोमबारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।
Leave a Reply