काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज चौथो दिन अहिले जारी छ । असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुँदै अहिले बसिरहेको छ ।
स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डाकै विषयमा आजको बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ । आजको बैठकमा कोभिड–१९ रोकथामको विषयमा पनि छलफल हुनेछ । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यले यो एजेण्डा केन्द्रीत छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाही प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिनेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।
कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् । यो असन्तुष्टि उनीहरुले पार्टी बैठकमा समेत खुलेर पोख्नेछन् ।
यसअघिका बैठकमा नेताहरुले नेपाल भारत सीमा विवाद र सीमा विवाद हल गर्न चाल्नुपर्ने कदमका विषयमा धारणाा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।
Leave a Reply