काठमाडौं । अवैध खोला उत्खननको विरोध गर्दा हत्या गरिएका दिलिप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको आरोपमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाइएको हो ।
धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलिपको हत्यामा प्रमुख योजनाकार रहेका प्रतिवादीद्वय विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद तथा ५र५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।
त्यसैगरी हत्याका मतियार रहेका जितेन्द्र महतोलाई १२ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ । अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।
हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।
घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए ।
Leave a Reply