काठमाडौं । न्यायाधीश समाजले अवकाश पाएका न्यायाधीशहरुलाई निर्वाचनबाट परिपूर्ति गरिने पदमा नियुक्त गर्न संवैधानिक प्रावधान बाधा नहुने दाबी गरेको छ ।
राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशहरु समेतलाई बनाउनुपर्ने लबिङ भइरहेका बेला त्यही लबिङलाई सहयोग पुग्ने खालको धारणा न्यायाधीश समाजबाट आएको हो ।
बुधबार मात्रै सर्वोच्च अदालत बार एसोसिएसनले बैठकबाट निर्णय गरेर सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरु राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुन बन्देज भएको धारणा सार्वजनिक गरेको थियो ।
त्यसको भोलिपल्ट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अध्यक्ष रहेको न्यायाधीश समाजले विज्ञप्ति जारी गरेर त्यसको प्रतिवाद गरेको हो ।
न्यायाधीश समाजको विज्ञप्तिमा भनिएको छ, ‘सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरु कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने संवैधानिक व्यवस्थाको अभिप्राय नेपालको संविधान बमोजिम निर्वाचनद्वारा पूर्ति गरिने पदमा उम्मेदवार बन्न नपाउने भन्ने अवश्य होइन ।’
जन–अभिमत प्राप्त गरी लोकतान्त्रिक प्रकियामा सहभागी हुन नपाउने भनेर अपव्याख्या गरिएको समाजको निष्कर्ष छ ।
Leave a Reply