वीरगन्ज । प्रतिबन्धित लागूऔषधसहित सर्लाही र धादिङका चार जना युवक पक्राउ परेका छन् ।
भारतको रक्सौलबाट लागुऔषध लिएर आएका उनीहरूलाई प्रहरीले बुधबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी ,१९ वर्षीय विशाल मोक्तान ,वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिङको गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन् ।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्सा प्रहरीले बतायो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागूऔषध बरामद गरेको थियो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply