धनुषा । जिल्ला अदालत धनुषाले खोला उत्खनन्को विरोध गर्दा हत्या गरिएका दिलिप महतो (ओमप्रकाश) घटनामा संलग्न तीन जनालाई दोषी ठहर गरेको छ ।
महतोलाई विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले बुधबार यस्तो आदेश सुनाएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।
दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई सफाई दिइएकोउनले बताए । घटनामा संलग्न रहेको दावी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको स्रेस्तेदार बस्नेतको भनाई छ ।
दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक छन् भने जितेन्द्र र मुनीन्द्र भने कामदार हुन् । दोषी ठहर भएकाहरुको हकमा साजय फागुन १२ गते सुनाइने बताइएको छ ।
२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।
अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ ।
Leave a Reply