काठमाडौं । अबकाशको मुखमा रहेका नेपाल प्रहरीका आईजीपी ठाकुरप्रसाद ज्ञवालीलाई ठूलो धक्का लागेको छ। दुई दिनमा मात्र चार जना प्रहरी नै घुसखोरी,लुटपाट र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आईजीपी ज्ञवालीको चेन अफ कमाण्डमाथि प्रश्न चिन्ह खडा भएको छ ।
बुधबार न्यूरोडका ब्यापारीको १० लुटपाटमा गरेको आरोपमा २ प्रहरी पक्राउ परे। काठमाडौं प्रहरी परिसरका घुमुवा धिरेन बिष्ट र २ नम्बर गण महाराजगंजमा कार्यरत सिपाही गणेश चन्द न्यूरोडका ब्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ परेका थिए ।
बिष्ट लामो समयदेखि परिसरका हाकिम र मेट्रोका डिआईजीलाई रिझाएर परिसरमा राज गर्दै आएका थिए।
बिहीबार ललितपुर प्रहरीका इन्स्पेक्टर रुद्र शाही लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परे । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले कार्यालयबाटै पक्राउ गरेको हो । शाहीले आफ्नै कारमा तराईबाट कोरेक्स नामक लागूऔषध ल्याउने क्रममा ब्यूरोले पक्राउ गरेको हो । शाहीले तीन बोरो कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।
त्यस्तै बिहीबारै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशजंग कार्की ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो । सोही क्रममा दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बिष्टको भनाइ छ । जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
दुई दिनको बीचमा प्रहरी नै लुटपाट, घुसखोरी र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आइजीपी ज्ञवालीलाई अबकाशको मुखमा नराम्रोसँग झट्का लागेको छ। असार २५ गते अबकास हुन लागेका ज्ञवालीमाथि नैतिक प्रश्न समेत उठेको छ ।
Leave a Reply