धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराए ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।
मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
Leave a Reply