दाङ । लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो ।
नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् । मतदान सकिएलगत्तै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छाडेका थिए ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दै छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ‚ जसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरू छन् ।
तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् । ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् ।
स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
Leave a Reply