Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राजपा र समाजवादी बीचको एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक!

    राजपा र समाजवादी बीचको एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक!

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । राजपा नेपाल र समाजवादी पार्टीबीच एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक बनेको छ । दुवै पार्टीका नेताहरूले प्रयास भइरहेको र चाँडै एकता हुने दाबी गरे पनि झन्डै डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लोपटक भने दुवैतर्फका शीर्ष १० नेताको व्यवस्थापन उल्झनजस्तो देखिएको छ ।

    एकताका लागि संवादमा रहेका दुवैतर्फका नेताहरूका अनुसार सैद्धान्तिक सहमति बनिसकेको छ । फेरि एकतामा ढिलाइ किन ? राजपा र समाजवादीकै नेताहरू अनौपचारिक संवादमा भन्छन्, ‘एकीकरणका लागि दुवै पक्ष तयार छन् । र, मूल कुरा दुवैतिरका शीर्ष नेतृत्वको व्यस्थापनमा अड्किएको छ ।’ शीर्ष नेतृत्वको व्यवस्थापन नै एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ ।



    शीर्ष नेतृत्वको अधिकार र हैसियत व्यवस्थापनमा गाँठो परेको छ । दुवैतिरका नेताहरू भन्छन्, ‘समाजवादी चार र राजपाका ६ नेताको वरीयता, अधिकार र हैसियत कसरी मिलाउने भन्नेमा अल्झिएको छ ।’



    यसअघि कात्तिकको मध्यतिर उपेन्द्र यादवनिवास हात्तीवनमा भएको दुवै पक्षका शीर्ष नेताको बैठकमा एकीकृत पार्टीको नेतृत्व मोडलबारे छलफल भएको थियो । त्यसयता दुवै पक्षबीच अनौपचारिक कुराकानी चले पनि नेतृत्ववारे दुवै पक्ष मौन छन् । तर, शीर्ष नेता सबैले आफ्नो हैसियत र अधिकारबारे चाहिँ चासो राखेका छन् ।

    एकताका लागि भएका विभिन्न चरणका वार्तामा सहभागी राजपाका एक नेताका अनुसार हात्तीवन छलफलमा यादवले महन्थ ठाकुरलाई सर्वमान्य नेता बनाउन तयार भए पनि राजपा अध्यक्षमण्डलका अन्य नेतालाई पदाधिकारी हैसियत मात्रै दिन सकिने प्रस्ताव गरेका थिए ।

    यादवले ठाकुरपछि अहिलेजस्तै बाबुराम भट्टराई र त्यसपछि कार्यकारी अधिकार आफैँले पाउनुपर्ने चाहना राखेका थिए । राजेन्द्र महतोलाई चौथो वरीयतामा राख्न तयार भए पनि अधिकारबारे मुख खोलेका थिइनन् । महेन्द्र यादव र शरत्सिंह भण्डारीलाई अशोक राई र राजेन्द्र श्रेष्ठपछि राख्ने यादवको प्रस्ताव थियो ।

    तर, राजपाले भने आदिवासी–जनजाति सबै क्लस्टर समेटिने गरी नेतृत्वमण्डल बनाउने प्रस्ताव गरेको छ । अशोक राईलाई उपेन्द्र यादवभन्दा माथि राख्न राजपाको प्रस्तावमा थियो । राजपाका एक नेता भन्छन्, ‘ठाकुर, भट्टराई र राईलाई अगाडि सार्ने र त्यसपछि सबै बसे पनि हुन्छ भन्ने छ ।’ तर, यादव यो मान्न तयार छैनन् ।

    दुवै पक्षका नेता भने व्यवस्थापन मिल्ने विश्वासमा छन् । राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादव भन्छन्, ‘छलफल र संवादमार्फत सबै विषय टुंग्याउँछौँ ।’ उनले एकीकरणका लागि नेतृत्व व्यवस्थापन समस्या नपर्ने बताए ।

    समाजवादीका महासचिव रामसहाय यादवले एकीकरणका लागि तयार दुई दलबीच नेतृत्व व्यवस्थापन भाँजो नपर्ने विश्वास जनाए । ‘एकीकरण गर्ने भएपछि दुवै पक्षले केही न केही कम्परमाइज गर्नैपर्छ,’ उनले भने । यादवले दुवै पार्टीसँग एकीकरणको अनभुव रहेको र जे गर्दा राम्रो पार्टी बन्छ त्यसरी नै अगाडि बढ्नुपर्ने आफ्नो मत रहेको सुनाए ।

    अहिले राजपामा ६ सदस्यीय अध्यक्षमण्डल छ । दुई–दुई महिनामा नेतृत्व लिने चक्रीय प्रणालीअनुसार पार्टी चलेको छ । अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव छन् । त्यस्तै, समाजवादीमा संघीय परिषद् अध्यक्ष र कार्यकारी अध्यक्षको व्यवस्था छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई छन् भने कार्यकारी अध्यक्षको भूमिकामा उपेन्द्र यादव छन् ।

    दुवै पार्टीको बैठकले एकता गर्ने निर्णय गरेका छन् र वार्ता समिति पनि बनाएका छन् । २८, २९ कात्तिकको समाजवादीको संघीय परिषद् र केन्द्रीय समिति बैठकले राजपासँग एकीकरण गर्ने निष्कर्ष निकाल्दै त्यसको अन्तिम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो । त्यसअघि समाजवादीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएर राजपालाई औपचारिक पत्रसमेत पठाएको थियो ।

    समाजवादीको पत्रसँगै राजपा अध्यक्षमण्डलको बैठकले पनि राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएको थियो । समाजवादी पार्टीसहित अन्य विचार र मुद्दा मिल्ने दलहरूसँग एकीकरण गर्ने राजपाको निर्णय छ । महतो नेतृत्वको समितिले समाजवादीलाई पत्रमार्फत एकीकरणको जवाफ दिँदै अनौपचारिक संवाद सुरु गरेको थियो ।

    पछिल्लोपटक राजपाले एकताका लागि समाजवादी सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो । सुरुवातमा राजपाको सर्त अस्वीकार गरे पनि ८ पुसमा समाजवादी सरकारबाट बाहिरिसकेको छ ।

    समाजवादी सरकारबाट बाहिरिनु एक साताअघि २ पुसमा राजपा र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमतिले समाजवादी र राजपाबीच फेरि दूरी बढेको थियो ।

    राष्ट्रिय सभामा सहकार्य गर्ने राजपा–नेकपा सहमतिले समाजवादीलाई झस्काएको थियो, जसका कारण केही दिनसम्म एकता वार्तासमेत रोकिएको थियो । तर, राष्ट्रिय सभाको ९ माघमा भएको चुनावपछि भने राजपा र समाजवादीबीच फेरि एकताको प्रयास सुरु भएको छ ।

    दुई वर्षअघि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका थिए । त्यसैअनुसार प्रदेश २ मा उनीहरूको संयुक्त सरकार छ । प्रदेशमा संयुक्त सरकार भए पनि केन्द्रमा विभाजित थिए । समाजवादी सरकारमा सहभागी भएको थियो भने राजपा विपक्षी बेन्चमा । समाजवादी सरकारबाट बाहिरिएपछि भने दुवै पार्टी विपक्षी बेन्चमा छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार