काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलास बहस भएको हो।
सरकारी वकिलले गृहमन्त्री लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार गरेको छ ।
तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको उसको तर्क छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा बहस जारी छ ।
लामिछानेले अमेरिकी नागरिक परित्याग गरेको सूचना दिएर नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नचालेको र पुरानै नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दिएकाले सांसद पद खारेज हुनुपर्ने रिट निवेदकहरुको तर्क छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरे ।
लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन योग्य रहेको सरकारी वकिलको जिकिर छ ।
Leave a Reply