काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु विगतमा सत्ता सम्हालेका दललहरुले थिलथिलो पारेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए ।
उनले भने, ‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ ।’
उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरे ।
लामिछानेले संसदको बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी लामिछानेले गरेका छन्।
Leave a Reply